राजविराज । सुनसरीको देवानगञ्ज घटनापछि सुरक्षा संवेदनशीलता बढ्दै लागू गरिएको निषेधाज्ञा अन्ततः सप्तरीमा पूर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार बिहान १० बजेदेखि राजविराज र बोदेबर्साइन नगरपालिकामा जारी निषेधाज्ञा फुकुवा गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको हो। देवानगञ्जमा भएको साम्प्रदायिक तनावको प्रभावलाई मध्यनजर गर्दै सम्भावित अप्रिय घटना रोक्न प्रशासनले यसअघि कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो।
यसबीच आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजलगायत विभिन्न स्थानमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिने र्याली आयोजना गरिएको थियो। र्यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार अहिले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था सामान्य रहेको छ। यद्यपि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।
साथै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, भ्रामक सूचना प्रसारण गर्ने वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन प्रशासनले सबैसँग अनुरोध गरेको छ। प्रशासनले कानुनविपरीत गतिविधिमाथि आवश्यक निगरानी र कारबाही जारी रहने पनि स्पष्ट पारेको छ।






































