बुटवल। पश्चिम नवलपरासीको सुस्तामा सीमा क्षेत्रको अस्थायी बाँध विवाद समाधानका लागि सोमबार हुने तय भएको नेपाली स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको छलफल अन्तिम समयमा स्थगित भएको छ । कारण बनेको छ—एसएसबीका एक जवानलाई सर्पले डसेको घटना।
आइतबार बाँध निर्माणको विषयलाई लिएर उत्पन्न भएको तनावपछि दुवै पक्ष वार्तामार्फत समाधान खोज्न सहमत भएका थिए। तर, भारतीय पक्षले आफ्ना एक जवानलाई सर्पले डसेपछि उपचारमा खटिनुपर्ने अवस्था आएको भन्दै निर्धारित बैठक स्थगित गरेको जनाएको छ।
सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँका अनुसार एसएसबीका कमान्डरले फोनमार्फत तत्काल छलफलमा सहभागी हुन नसक्ने जानकारी दिएका थिए। दुवै पक्षले अर्को उपयुक्त समयमा पुनः वार्ता गर्ने सहमति गरेका छन्।
यद्यपि, वार्ता स्थगित भए पनि बाँध निर्माणको काम भने पूर्ण रूपमा रोकिएको छैन। स्थानीयका अनुसार भारतीय पक्षले आफूहरूले चिनो लगाएको सीमासम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको छ। सोही सहमतिअनुसार स्थानीयले चिनो लगाइएको क्षेत्रसम्म बाँध निर्माण अघि बढाउन सक्ने भएका छन्।
सुस्तामा आइतबार भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि सीमा क्षेत्रमा तनाव चुलिएको थियो। त्यसपछि दुवै पक्षबीच संवादमार्फत समस्या समाधान गर्ने प्रयास सुरु गरिएको हो।
अब वार्ताको नयाँ मिति तय भएपछि सीमा क्षेत्रको बाँध विवाद र त्यससँग जोडिएका विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।






































