जुम्ला । जुम्ली स्याउको गुणस्तर जोगाउन प्रहरीले यस वर्ष कडाइ सुरु गरेको छ। जिल्ला बाहिर काँचो स्याउ निर्यातमा रोक लगाउने निर्णय कार्यान्वयन गर्दै रारा प्रहरी चौकीले सुर्खेत र नेपालगञ्जतर्फ पठाइँदै गरेका १८० कार्टुन स्याउ नियन्त्रणमा लिएको हो।
स्याउ नपाक्दै बजारमा पुग्न थालेपछि किसान, उपभोक्ता र जुम्ली स्याउको प्रतिष्ठामै असर पर्ने चिन्ता बढेपछि स्थानीय प्रशासनले काँचो स्याउ निकासीमा निगरानी कडा बनाएको हो।
नियन्त्रणमा लिइएको स्याउको कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, तिला गाउँपालिका, प्रहरी, कृषक र व्यापारीको उपस्थितिमा रिफ्र्याक्टोमिटरबाट गुणस्तर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १५० कार्टुन स्याउमा १२ प्रतिशतभन्दा बढी गुलियोपना भेटिएपछि ती स्याउ आवश्यक समन्वयपछि निकासी गर्न सकिने निष्कर्ष निकालिएको छ।
तर ९ कार्टुन स्याउ तथा केही स्थानीय जातका रेड डेलिसियस र रोयल डेलिसियस स्याउमा गुलियोपना ७ देखि ८ प्रतिशत मात्रै पाइएकाले ती स्याउ मापदण्डअनुसार नपाकेको ठहर गरिएको छ।
कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार स्याउ नपाक्दै बजार पठाउने क्रम बढेपछि प्रहरीले निकासी रोकेर गुणस्तर परीक्षण गरेको हो। अब मापदण्ड नपुगेका स्याउ भण्डारणमै राखिनेछन् भने कृषि प्राविधिकको सिफारिसबिना जिल्ला बाहिर पठाउन नपाइने व्यवस्था गरिएको छ।
स्थानीय सरोकारवालाले जुम्ली स्याउको पहिचान र बजारको विश्वास जोगाउन काँचो फल बिक्री रोक्नु आवश्यक रहेको बताएका छन्। यस कदमले उपभोक्ताले गुणस्तरीय स्याउ पाउने र जुम्ली स्याउको ब्रान्ड मूल्यसमेत संरक्षण हुने अपेक्षा गरिएको छ।






































