चितवन।लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएपछि सोमबार दिउँसो ३स्३० बजेदेखि दुवैतर्फ सवारी आवागमन सुचारु भएको जनाएको छ।

मुग्लिन बजार नजिकै दिउँसो २स्१० बजे पहिरो खस्दा पूर्व–पश्चिम जोड्ने यो व्यस्त सडक पूर्ण रूपमा बन्द भएको थियो। लगत्तै डोजर तथा अन्य हेभी उपकरण परिचालन गरी सडकमा थुप्रिएको ढुंगा–माटो हटाइएपछि यातायात पुनः सञ्चालनमा ल्याइएको हो।

यसअघि सोमबार बिहान पनि यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण केही समय सवारीसाधन एकतर्फी मात्र सञ्चालन भएका थिए। बिहानको पहिरो हटाएर सडक सामान्य बनाइए पनि दिउँसो पुनः पहिरो खस्दा यात्रा प्रभावित भएको थियो।

सडक खुलेसँगै बीच बाटोमा रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन्। यद्यपि, लगातार वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको भन्दै सडक डिभिजन कार्यालयले चालकलाई सतर्कतापूर्वक यात्रा गर्न आग्रह गरेको छ।