काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरेको छ । 

काठमाडौं महानगरिपालिका वडा नम्बर ३१, शंखमुलस्थित बागमती नदीको पुलको छेउमा गायिका आगन्तुक खरेलको उक्त सलून सञ्चालनमा ल्याएकी हुन् । सांगीतिक क्षेत्रका विभिन्न सेलिब्रेटीमाझ आइतवार गायिका खरेलकी सुपुत्री आँचल पुनले रिबन काट्दै उक्त सलूनको औपचारिक उद्घाटन गरेकी हुन् । रिबन काटेलगत्तै गायिका खरेलसहितका सेलिब्रेटीहरुले केक काटेर सलूनको उद्घाटन समारोहलाई थप भव्य बनाएका थिए ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तेस्रो तलामा सञ्चालनमा आएको सलूनले महिलाहरूका लागि आवश्यक सम्पूर्ण सौन्दर्य सेवा एउटै स्थानबाट उपलब्ध गराइरहेको जगाकिया खरेलको भनाइ छ । सलूनकी सञ्चालिका गायिका खरेलका अनुसार प्रीटि सलुनको प्रमुख विशेषता गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको व्यक्तिगत आवश्यकता अनुसार सेवा प्रदान गर्नु हो । 

उनका अनुसार सलुनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट, ब्राइडल मेकओभरलगायतका विभिन्न ब्युटी सेवासँगै अत्याधुनिक स्किन केयर सेवा पनि उपलब्ध छ । छालासम्बन्धी समस्याको पहिचानका लागि अनुभवी चिकित्सकको परामर्शसमेत उपलब्ध गराइने र त्यसअनुसार आवश्यक उपचार तथा सेवा प्रदान गरिने व्यवस्था गरिएको उनले जानकारी दिएकी छिन् । प्रीटि सलुनमा हाइड्रा फेशियल, लेजर ट्रीटमेन्ट लगायतका आधुनिक स्किन केयर प्रविधिमा आधारित सेवा सञ्चालनमा छन् ।

साथै, अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय स्किन केयर ब्रान्डका उत्पादन प्रयोग गरिने भएकाले ग्राहकलाई सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्न सफल भएको सञ्चालक खरेलको दावी छ । आबुधानीको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गर्दै नेपाली ग्राहकलाई विश्वस्तरीय सौन्दर्य तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको सञ्चालक गायिका खरेलले बताइन्।