काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले इतिहास, त्याग र लोकतान्त्रिक आन्दोलनको जगमा उभिएका स्थापित राजनीतिक दलको विकल्प अचानक उदाएका राजनीतिक शक्तिहरू हुन नसक्ने बताएका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले क्षणिक लोकप्रियताका आधारमा देशको रूपान्तरण सम्भव नहुने दाबी गरे। उनले नयाँ राजनीतिक शक्तिहरूप्रति संकेत गर्दै उनीहरूको मूल्याङ्कन जनताले मतदानमार्फत सुरु गरिसकेको र अन्तिम निष्कर्ष आउन अझ समय लाग्ने टिप्पणी गरे।
सांसद शर्माले वर्तमान सरकार लोकतान्त्रिक प्रक्रिया र कानुनी विधिभन्दा बाहिर गएर निर्णय गरिरहेको आरोप पनि लगाए। सरकारका निर्णय पटक–पटक अदालतबाट बदर हुनु शासन सञ्चालनको कमजोरी भएको उनको भनाइ थियो।
उनले सरकार सुशासन र जनजीविकाका मूल समस्यामा असफल भएको आरोप लगाउँदै राहदानी सेवाको अव्यवस्था, किसानले मल र उचित मूल्य नपाएको अवस्था तथा बढ्दो महँगीप्रति सरकार गम्भीर बन्नुपर्ने बताए।
राजनीतिक नेताहरूको बढ्दो धार्मिक प्रदर्शनप्रति पनि उनले असन्तुष्टि जनाउँदै जनताको वास्तविक समस्या समाधानतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे।





































