काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद अब संघीय संसद्को राष्ट्रियसभासम्म पुगेको छ। राष्ट्रियसभा सदस्य पूजा चौधरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरेकी छन्।
सोमबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलस्थित नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँध भारतीय एसएसबीले भत्काउन थालेपछि स्थानीय र एसएसबीबीच तनाव उत्पन्न भएको बताइन्।
उनले सुस्तालाई केवल स्थानीय विवाद नभई नेपालको सार्वभौमिकता, राष्ट्रियता र सीमासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै सरकारलाई संयमित तर प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरिन्।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको दैनिक जीवन सहज बनाउन तथा यस्ता सीमा विवादलाई उच्चस्तरीय नेपाल–भारत कूटनीतिक संवादमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकार सक्रिय हुनुपर्ने उनको भनाइ छ।
सांसद चौधरीले राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई केन्द्रमा राखेर सीमा समस्याको स्थायी समाधान खोज्न सरकारसँग विशेष पहलको माग गरेकी छन्।






































