सिन्धुली ।सिन्धुलीको मध्यपहाडी राजमार्गमा भएको भीषण सडक दुर्घटनापछि एक कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्। दुर्घटनापछि नदीमा खसेको कार र बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बस ले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करको झड्काले कार सडकबाट सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा र कारमा सवार एक जना हेल्पर बेपत्ता भएका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी, स्थानीयवासी र उद्धार टोलीले नदीमा खोजी अभियान सञ्चालन गरेका छन्। नदीको बहाव तीव्र रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ भने बेपत्ता तीनै जनाको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।






































