चितवन। वर्षासँगै लगातार खसिरहेको पहिरोले देशकै व्यस्त मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा थप जोखिमपूर्ण बन्दै गएको छ। सोमबार बिहान खुलेको सडक दिउँसो फेरि पहिरो खसेपछि दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै दिउँसो करिब २ः१० बजे पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। बिहान खसेको पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि केही घण्टामै अर्को पहिरो खस्दा सडक फेरि बन्द हुन पुगेको हो।

अवरुद्ध सडक खुलाउन तत्काल एउटा डोजर परिचालन गरिएको छ भने थप दुई वटा हेभी उपकरण घटनास्थलतर्फ पठाइएको सडक डिभिजनले जनाएको छ। मौसमले साथ दिए करिब ४५ मिनेटभित्र पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

पहिरोका कारण सयौं साना तथा ठूला सवारीसाधन सडकका दुवैतर्फ रोकिएका छन्। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने लगातारको वर्षाका कारण थप पहिरो खस्ने जोखिम पनि कायमै रहेको छ।

सडक डिभिजन कार्यालयले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न चालक तथा यात्रुलाई आग्रह गरेको छ। लगातार दोहोरिँदै आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।