काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै भदौ महिनादेखि चरणबद्ध आन्दोलनमा उत्रिने घोषणा गरेको छ। महासंघले यसपटकको आन्दोलन अघिल्ला सबै आन्दोलनभन्दा व्यापक र सशक्त हुने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतमा सरकारसँग भएका सहमति, मन्त्रिपरिषद्का ९ बुँदे निर्णय र विद्यालय शिक्षा ऐन अझै कार्यान्वयन नभएकाले शिक्षकहरू पुनः आन्दोलनमा जान बाध्य भएको बताए। उनका अनुसार आन्दोलनको मिति केही दिनभित्र सार्वजनिक गरिनेछ।
महासंघले विद्यालय कर्मचारी, बालविकास शिक्षक, सिकाइ अनुदान शिक्षक, स्थायी शिक्षकको बढुवा, सरुवा, सेवा–सुविधा तथा शिक्षा नियमावलीका विवादित व्यवस्थालाई मुख्य एजेन्डा बनाएको छ। माग सम्बोधन नभए स्थानीय तहदेखि काठमाडौंसम्म आन्दोलन विस्तार गर्दै सडक संघर्षमा उत्रिने तयारी गरिएको छ।
अध्यक्ष सुवेदीले शिक्षकहरू कक्षाकोठा छाडेर सडकमा आउन चाहँदैनन्, तर सरकारले बेवास्ता गरेकाले आन्दोलन अपरिहार्य बनेको दाबी गरे। उनले शिक्षाप्रति राज्यको प्राथमिकता कमजोर रहेको, सरकार संवेदनशील नभएको र पटक–पटक भएका सहमति कार्यान्वयन नगरेकै कारण समस्या दोहोरिएको आरोप लगाए।
महासंघले सरकारलाई तत्काल वार्तामा बसेर सहमति कार्यान्वयन गर्न आग्रह गर्दै अन्यथा भदौको आन्दोलनले देशभरको शैक्षिक गतिविधिमा असर पार्न सक्ने संकेत दिएको छ।






































