सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा खसेर बेपत्ता भएको कार र त्यसमा सवार तीन जनाको खोजीका लागि गोताखोरसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। दुर्घटनापछि खोजी तथा उद्धार अभियानलाई तीव्र बनाइएको हो।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटबाट प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। नेपाल प्रहरीको टोलीले पनि उद्धार तथा खोजी अभियानमा सहकार्य गरिरहेको छ।

प्रहरीका अनुसार खोटाङबाट काठमाडौं आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा परिचय नखुलेका अर्का एक जना बेपत्ता भएका छन्।

घटनालगत्तै प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ। नदीको बहाव र गहिराइका कारण खोजी कार्य चुनौतीपूर्ण बने पनि बेपत्ताको खोजीलाई निरन्तरता दिइएको सुरक्षा निकायले जनाएको छ।