काठमाडौं । आमरण अनसनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारबीच संवादको ढोका खुलेको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार सरकारका प्रतिनिधि र रानाभाट पक्षबीच औपचारिक वार्ता सुरु भएको हो।

सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाको नेतृत्वमा वार्ता भइरहेको छ। नर्स रानाभाटको पक्षबाट नर्स कल्पना रिजाल, कविता सिटौला र अधिवक्ता इन्द्रप्रसाद अर्याल सहभागी छन्।

 लामो समयदेखि आफ्ना माग पूरा गर्न दबाबस्वरूप अनसनमा रहेकी रानाभाटको स्वास्थ्य अवस्थाप्रति चासो बढिरहेका बेला वार्ता सुरु भएको हो। दुवै पक्षले सहमतिमार्फत समाधान खोज्ने प्रयास गरिरहेका छन्।

वार्ताबाट ठोस निष्कर्ष निस्किए अनसन अन्त्य हुने सम्भावना रहेको छ। तर सहमति जुट्न नसके आन्दोलन थप चर्किने संकेत पनि देखिएको छ।