सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रथम अधिवेशन उद्घाटन भएकै दिन प्रतिनिधि छनोटलाई लिएर विवाद चर्किएको छ। प्रतिनिधिको संख्याबारे उठेको प्रश्नपछि अधिवेशनको निर्वाचन प्रक्रिया नै प्रभावित हुने संकेत देखिएको छ।
सभापति पदका आकांक्षी एनके बस्नेत र स्नेहा उपाध्यायले प्रतिनिधि सूचीप्रति असन्तुष्टि जनाउँदै आपत्ति उठाएका छन्। उनीहरूले आधिकारिक भनिएका प्रतिनिधिमध्ये ठूलो संख्यामा मापदण्डविपरीत सहभागी गराइएको दाबी गरेका छन्।
विवाद बढेपछि निर्वाचन समितिले प्रतिनिधि छनोट प्रक्रियाबारे छानबिन थालेको छ। असन्तुष्ट पक्षले छानबिनको निष्कर्ष नआएसम्म निर्वाचन अगाडि बढ्न नदिने अडान लिएको जनाएको छ।
वीरेन्द्रनगरमा आयोजित अधिवेशनको उद्घाटन रास्वपाका महामन्त्री भूपदेव शाहले गरेका थिए। अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी भए पनि प्रतिनिधि विवादका कारण प्रक्रिया अनिश्चित बनेको छ।
प्रदेश सभापतिका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत (एनके) प्रतिस्पर्धामा रहेका छन्। विवाद समाधानपछि मात्रै निर्वाचन तालिका अघि बढ्ने स्रोतले बताएको छ ।





































