एजन्शी । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित नरहेको अनुमान गरिएकाे छ ।

बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। विमानकाे खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।

रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ । विमानमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार थिए। तीमध्ये ५ जना बालबालिका रहेकाे बताइएको छ।

उक्त क्षेत्रका गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ४३ जना यात्रु र छ जना चालक दलका सदस्य थिए। यात्रुमध्ये पाँच जना बालबालिका थिए। रूसको राज्य समाचार एजेन्सी तासले आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै विमानमा ४० यात्रु र छ चालक दल रहेको बताएको छ।

टिन्डा विमानस्थलमा दोस्रो पटक पुग्ने प्रयास गर्दा विमान दुर्घटना भएको रुसको सुदूर पूर्वी यातायात अभियोजकको कार्यालयले जनाएको छ। 'टिन्डा विमानस्थलमा पुग्दा विमानले दोस्रो अवतरणका लागि घुम्यो, त्यसपछि सम्पर्क टुटेको थियो', अभियोजक कार्यालयले भन्यो, 'परिस्थितिहरूको अनुसन्धान भइरहेको छ।'