काठमाडौं । सिरहामा बढ्दो सुरक्षा संवेदनशीलताबीच स्थानीय प्रशासनले कर्फ्युको दायरा थप विस्तार गरेको छ। गोलबजारपछि अब लहान क्षेत्रमा पनि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो ४ बजेदेखि लागू हुने गरी आदेश जारी गरेको हो। प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ बलान खोला, पश्चिमतर्फ सरस्वती खोला बाटिका होटल पश्चिम सम्म तथा राजमार्गको दुवैतर्फ करिब ५०० मिटर क्षेत्र कर्फ्युभित्र समेटिएको छ।
यसअघि नै गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि चोहर्वा चोकसम्म, सैनिक चोकदेखि गोलबजार–४ क्षेत्रसम्म कर्फ्यु लागू गरिएको थियो। पछिल्लो निर्णयसँगै सिरहाका दुई प्रमुख संवेदनशील क्षेत्रमा आवतजावत र सार्वजनिक गतिविधिमा पूर्ण नियन्त्रण गरिएको छ।
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न, सम्भावित अप्रिय घटना रोक्न र अवस्था सामान्य नभएसम्म कर्फ्यु जारी रहने जनाएको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।






































