काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुठीका कारण पीडित किसानको समस्या समाधान र देशभर फैलिएको बाँदर आतंक नियन्त्रणका लागि तत्काल कानुन बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले सिन्धुपाल्चोकका करिब २२ हजार घरधुरी किसान वर्षौंदेखि गुठी व्यवस्थाका कारण आफ्नो जोतभोगको जग्गामाथि स्वामित्व अधिकारबाट वञ्चित रहेको बताए। उनले ‘गुठी विधेयक’ तत्काल संसदमा ल्याउन सरकारलाई आग्रह गरे।
दुलालले किसानहरू अहिले खेतीपाती गर्नुभन्दा बाँदर धपाउनै दिनभर व्यस्त हुनुपर्ने अवस्था आएको भन्दै बाँदरले अन्नबाली नष्ट गर्दा कृषकहरू ठूलो आर्थिक मारमा परेको उल्लेख गरे। कृषिप्रधान देशको नारा मात्र होइन, किसानको भूमि अधिकार र बाली सुरक्षा सुनिश्चित गर्ने नीति अब तत्काल आवश्यक भएको उनको भनाइ छ।






































