काठमाडौं। विगत चार वर्षदेखि छापिन बाँकी रहेका स्मार्ट चालक अनुमतिपत्र लाइसेन्स अन्ततः छापेर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइएको छ। यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा २७ लाख ४७ हजारभन्दा बढी स्मार्ट लाइसेन्स छापी हुलाकमार्फत देशभरका कार्यालयमा वितरण सुरु गरेको जनाएको छ।

विभागका अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी सबै कार्ड साउन ७ गतेभित्र तयार गरी सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।विदेश रोजगारी वा अन्य अत्यावश्यक कारणले तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीका लागि विभागले विशेष ‘फास्ट ट्र्याक’ सेवा पनि सञ्चालनमा ल्याएको छ। यस्तो अवस्थामा सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरेपछि प्राथमिकताका आधारमा कार्ड छपाइ र वितरण गरिने विभागले जनाएको छ।

यातायात सेवा थप सहज बनाउन राष्ट्रिय परिचयपत्र नम्बर स्वतः प्रणालीमा जोड्ने व्यवस्था लागू गरिएको छ। साथै राजस्व अनलाइनबाट तिर्न सकिने, लाइसेन्समा भएका विवरणगत त्रुटि सम्बन्धित कार्यालयबाटै तत्काल सच्याउने र पुनः छपाइ गर्ने सुविधा पनि सुरु गरिएको छ।विभागले अर्को महत्वपूर्ण सूचना पनि दिएको छ। म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका लाइसेन्स भने छापिने छैनन्। त्यस्ता सेवाग्राहीले पहिले नवीकरण गरी १० वर्षे नयाँ लाइसेन्स लिनुपर्नेछ।


लामो समयदेखि स्मार्ट लाइसेन्स नपाएर हैरान भएका लाखौं सेवाग्राहीका लागि यो निर्णय राहतको रूपमा हेरिएको छ भने विशेष गरी वैदेशिक रोजगारीमा जानेहरूलाई द्रुत सेवा उपलब्ध गराउने व्यवस्थाले प्रक्रिया अझ सहज हुने अपेक्षा गरिएको छ।