काठमाडौं— बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेका बेला अनुमति बिना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भइरहेका छन्। सोही क्षेत्रमा केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन उडाइरहेको पाइएको भन्दै प्राधिकरणले ध्यानाकर्षण गराएको हो।

प्राधिकरणका अनुसार अनधिकृत रूपमा ड्रोन उडाउँदा उद्धारका लागि परिचालित हेलिकोप्टरसँग हवाई क्षेत्रमा जोखिम बढ्नुका साथै खोज तथा उद्धार कार्य प्रभावित हुन सक्छ। हेलिकोप्टरको सुरक्षित सञ्चालनमा समेत बाधा पुग्ने भएकाले उद्धार क्षेत्रमा जथाभावी ड्रोन नउडाउन आग्रह गरिएको हो।

प्राधिकरणले ड्रोन सञ्चालन गर्नुअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट आवश्यक पूर्वस्वीकृति लिन आग्रह गरेको छ। अनुमति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी र हेलिकोप्टर परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।