काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले पछिल्लो सुरक्षा अवस्थालाई लिएर गृह प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्। सभापति रवि लामिछानेसँग मधेशका सांसदहरूको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री सुधन गुरुङबाट परिस्थिति नियन्त्रणमा अपेक्षित सक्रियता नदेखिएको टिप्पणी गरे।
झाले सुनसरी घटनापछि राज्यले देखाउनुपर्ने तत्परता र समन्वय पर्याप्त नभएको दाबी गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र न्याय दिन सरकारसँग माग गरे। उनले गृहमन्त्री आन्दोलनबाटै आएको नेतृत्व भएकाले पीडितको भावना अझ राम्रोसँग बुझ्नुपर्ने पनि उल्लेख गरे।
उनका अनुसार अहिले जनकपुरसहित मधेशका विभिन्न क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। बजार बन्द, चोक–चोकमा टायर बालेर प्रदर्शन र बढ्दो तनावले अवस्था असहज बन्दै गएको भन्दै उनले सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याए।






































