काठमाडौं । देशभर निरन्तर वर्षा भइरहेका बेला बाढीको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। बाढी पूर्वानुमान महाशाखाले आज ३१ जिल्लामा बाढीको उच्च जोखिम रहेको चेतावनी जारी गर्दै नदी तथा खोलानाला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट बग्ने नदीहरूको बहाव बढ्न सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय र सर्वसाधारणलाई पूर्वतयारीमा जुट्न अनुरोध गरिएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको जोखिम उच्च रहेको छ।

विशेषगरी नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक खोलाहरूमा जलसतह उल्लेख्य बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि निरन्तर वर्षाले अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने चेतावनी दिइएको छ।

महाकाली नदी तटीय क्षेत्रलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा चिनाउँदै महाशाखाले नदी किनारमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानको तयारी गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

यससँगै पालिका, सुरक्षा निकाय र विपद् व्यवस्थापनमा संलग्न निकायलाई नदीको बहाव निरन्तर निगरानी गर्न, समयमै सूचना प्रवाह गर्न तथा सम्भावित उद्धार र राहतका लागि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

मौसमविद्हरूका अनुसार वर्षाको अवस्था र नदीको बहावमा हुने परिवर्तनसँगै जोखिम अझ बढ्न सक्ने भएकाले नागरिकलाई आधिकारिक सूचना नियमित रूपमा हेर्न, अफवाहमा नलाग्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। अहिलेको अवस्था हेर्दा मनसुनजन्य विपद् व्यवस्थापन सबै निकायका लागि मुख्य चुनौती बनेको छ।