काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशमा बढ्दो सामाजिक तथा साम्प्रदायिक तनावका बीच केन्द्र सरकारको मात्र प्रतीक्षा नगरी स्थानीय तहबाटै सद्भाव कायम गर्ने अभियान सुरु गर्न आग्रह गरेका छन्। उनले प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज र सुरक्षा निकाय एकै ठाउँमा उभिएर परिस्थिति नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले अहिलेको संवेदनशील अवस्थामा ‘सरकारको मुख नताकौँ, आ–आफ्नो ठाउँमा बृहत् सद्भाव -याली निकालौँ’ भन्दै सबै पक्षलाई सक्रिय हुन आह्वान गरेका छन्। उनका अनुसार सामाजिक एकता र धार्मिक सहिष्णुता जोगाउन स्थानीयस्तरकै पहल सबैभन्दा प्रभावकारी हुने समय आएको छ।

भट्टराईले केन्द्र सरकारको भूमिका अपेक्षाअनुसार प्रभावकारी नदेखिएको संकेत गर्दै नागरिकको जिउधन, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिको सुरक्षामा ढिलाइ गर्न नहुने बताएका छन्। उनले हिंसा र तनाव फैलिनुअघि नै सबै पक्ष मिलेर स्थिति सामान्य बनाउन पहल गर्नुपर्ने धारणा राखेका छन्।

सुनसरीदेखि मधेशका विभिन्न जिल्लासम्म फैलिएको तनावपूर्ण अवस्थाका बीच आएको भट्टराईको यो अपिललाई सामाजिक सद्भाव कायम गर्ने राजनीतिक सन्देशका रूपमा हेरिएको छ। उनले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबैलाई साझा प्रयासमा जुट्न आग्रह गरेका छन्।