सिरहा । सुनसरीको देवानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनाव अब मधेशका विभिन्न जिल्लामा फैलिँदै गएको छ। बिहीबार सिरहाको गोलबजार हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा २० वर्षीय गणेश यादवको ज्यान गएको छ भने अन्य केही व्यक्ति गम्भीर घाइते भएका छन्। तनाव बढ्दै गएपछि गोलबजार, लहानसहित विभिन्न क्षेत्रमा कफ्र्यु आदेश थप कडा पारिएको छ।

प्रहरी स्रोतका अनुसार गोली लागेर मृत्यु भएका गणेश यादवको घाँटीमा गोली लागेको थियो। गोलीले घाँटी छेडेर वारपार गरेको र घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। घाइते भएका सुवास ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रदर्शनकारीले गोलबजारस्थित पार्किङमा रहेका ११ वटा मोटरसाइकलमा आगजनी गरेका छन्। सडकमा गुडिरहेका बस तथा अन्य सवारीसाधनमा पनि तोडफोड गरिएको छ। केही व्यापारिक प्रतिष्ठान, होटल र पसलमा समेत क्षति पुगेको छ। आगलागी नियन्त्रणका लागि गोलबजार नगरपालिकाको दमकल परिचालन गरिएको थियो।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास, लाठीचार्ज र अन्ततः गोली चलाएको जनाएको छ। घटनापछि सम्पूर्ण गोलबजार बजार क्षेत्र तनावग्रस्त बनेको छ भने सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको छ।

यसअघि सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको झडपमा पनि प्रहरीको गोली कम्मरमाथि लाग्दा दुई जनाको मृत्यु र आठ जना घाइते भएका थिए। सिरहाको घटनामा पनि मृतकको घाँटीमै गोली लागेको तथ्य बाहिरिएसँगै प्रहरीको बल प्रयोगको शैलीमाथि नयाँ प्रश्न उठ्न थालेको छ।

उता सिरहाको लहान क्षेत्रमा पनि कफ्र्यु आदेश लागू गरिएको छ भने मधेश प्रदेशको राजधानी जनकपुरधामका संवेदनशील क्षेत्रमा समेत कफ्र्यु र निषेधात्मक सुरक्षा व्यवस्था लागू गरिएको छ। प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

सुनसरीबाट सुरु भएको विवाद अब सिरहा, धनुषालगायत मधेशका अन्य जिल्लामा समेत फैलिन थालेपछि सम्पूर्ण क्षेत्र उच्च सुरक्षा निगरानीमा राखिएको छ। सरकारले सुरक्षा बलको परिचालन बढाएको छ भने हिंसा थप फैलिन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक नेतृत्वबीच निरन्तर समन्वय भइरहेको जनाएको छ। अहिलेको अवस्थाले मधेश प्रदेशको सुरक्षा चुनौती थप गम्भीर बनेको देखिएको छ।