काठमाडौं। सुनसरीमा भएको हिंसात्मक घटनापछि पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नेपाली समाजमा देखिएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।
निर्मल निवासबाट जारी सन्देशमा उनले सुनसरीको घटनाले जनधनको क्षति हुनुका साथै कोशी क्षेत्रसम्म अस्थिरताको प्रभाव फैलिएको भन्दै दुःख व्यक्त गरेका छन्। नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिले बनेको साझा घर भएकाले कुनै पनि बहानामा सामाजिक सद्भाव खलबलिन नहुने उनको भनाइ छ।
पूर्वराजा शाहले नेपालको पहिचान नै सहअस्तित्व, सहिष्णुता र आपसी मेलमिलाप रहेको उल्लेख गर्दै विगतदेखि नेपालीहरू मिलेर बसेको इतिहासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले कुनै पनि समुदायबीच विभाजन, द्वेष वा वैमनस्य फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
उनका अनुसार नेपालको अन्तर्राष्ट्रिय सम्मान पनि यिनै धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यका कारण कायम रहेको छ। त्यसैले देशको जुनसुकै भूभागमा बसोबास गर्ने नेपालीले आपसी विश्वास, सद्भाव र एकतालाई अझ मजबुत बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरेका छन्।
सुनसरी घटनापछि विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षले संयमता अपनाउन अपिल गरिरहेका बेला पूर्वराजाको यो सन्देशलाई पनि सामाजिक सद्भाव कायम राख्ने आग्रहका रूपमा हेरिएको छ।






































