काठमाण्डौं / जेनजी मुभमेन्ट नेपालले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका हिंसात्मक घटना, साम्प्रदायिक तनाव तथा सार्वजनिक सुरक्षा व्यवस्थाप्रति सरकार गम्भीर हुन नसकेको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङलाई पदबाट हटाउन माग गरेको छ।

मुभमेन्टले जारी गरेको वक्तव्यमा गृहमन्त्री गुरुङको विगत विवादास्पद रहेको दाबी गर्दै, उनले भ्रमण गरेका केही क्षेत्रमा त्यसपछि हिंसात्मक घटना र तनाव बढेको उल्लेख गरिएको छ। साथै, जेनजी आन्दोलनका क्रममा गुरुङले आन्दोलन भड्काउने तथा द्वन्द्व सिर्जना गरेको भन्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि स्मरण गराइएको छ।

वक्तव्यमा यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई गृह प्रशासनको नेतृत्वमा नियुक्त गर्नुले राज्यको निष्पक्षता, विधिको शासन र सार्वजनिक विश्वासमाथि गम्भीर प्रश्न उठाएको दाबी गरिएको छ। मुभमेन्टका अनुसार पछिल्लो समय गृहमन्त्रीले निरीक्षण वा भ्रमण गरेका क्षेत्रहरूमा हिंसात्मक गतिविधि र तनाव बढेको देखिएको छ। सुनसरीमा बिजुलीको लाइन काटेर गोली प्रहार गरी एक नागरिकको हत्या भएको तथा दर्जनौँ व्यक्ति घाइते र अंगभंग भएको घटनालाई उल्लेख गर्दै वक्तव्यमा राज्यकै तर्फबाट देशलाई साम्प्रदायिक द्वन्द्वतर्फ धकेल्ने प्रयास भएको आरोप पनि लगाइएको छ।

उक्त घटनासहित समग्र विषयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गर्दै मुभमेन्टले गृहमन्त्री गुरुङलाई तत्काल पदबाट हटाएर प्रभावमुक्त अनुसन्धानको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। त्यसैगरी, देशको आन्तरिक सुरक्षा, कानुनी शासन र राष्ट्रिय एकतालाई सुदृढ बनाउन उच्च नैतिकता, व्यावसायिक दक्षता, अनुभव, क्षमता र निष्पक्षता भएको व्यक्तिलाई गृहमन्त्री नियुक्त गर्नुपर्ने सुझाव पनि वक्तव्यमा दिइएको छ।

मुभमेन्टले नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको सुनिश्चितता राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सरकारले थप जिम्मेवार, पारदर्शी र जवाफदेही ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएको छ।