काठमाडौं। मध्यपूर्वमा अमेरिका र इरानबीच लगातार हवाई आक्रमण भइरहेका बेला पाकिस्तानले दुवै देशबीच कूटनीतिक संवाद भने अझै रोकिएको छैन भन्ने दाबी गरेको छ। पाकिस्तानका अनुसार विशेष गरी विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने स्ट्रेट अफ हर्मुज क्षेत्रको सुरक्षा र स्थायित्वलाई केन्द्रमा राखेर दुवै पक्षबीच पर्दापछाडि वार्ता जारी छ।

पाकिस्तानका परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले सैन्य भिडन्तले समाधान नदिने भन्दै संवाद र कूटनीतिक पहलमार्फत मात्रै संकट अन्त्य गर्न सकिने बताएका छन्। पाकिस्तानले दुवै देशलाई संयमता अपनाउँदै वार्ताको माध्यमबाट साझा समाधान खोज्न आग्रह पनि गरेको छ।यता, इरानी हमलाको जवाफमा अमेरिकाले फेरि नयाँ चरणको सैन्य कारबाही थालेपछि क्षेत्रीय तनाव थप चुलिएको छ। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण रोकिएको संकेत दिएका भए पनि दुवै पक्षले पुनः बमबारी सुरु गरेका छन्।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य लक्ष्यमा भीषण हमला गरेको पुष्टि गर्दै यो इरानबाट अमेरिकी सैन्य अड्डामाथि भएको आक्रमणको प्रतिकार भएको जनाएको छ। करिब ६ दिनको अन्तरालपछि अमेरिकाले फेरि आक्रमण थालेको हो।यसअघि जुन महिनामा अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्रमा सहमति भएको थियो। तर स्ट्रेट अफ हर्मुजको नियन्त्रण, समुद्री सुरक्षा र जहाज आवतजावतको विषयमा मतभेद बढेपछि सम्झौताको प्रभाव कमजोर बन्दै गएको छ।

युद्धको जोखिम बढिरहे पनि पाकिस्तानले कूटनीतिक प्रयास जारी रहेको दाबी गरेसँगै अब विश्व समुदायको ध्यान युद्ध रोक्ने वार्ताले गति लिन्छ कि थप सैन्य टकरावतर्फ जान्छ भन्नेमा केन्द्रित भएको छ।