काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विदेश भ्रमणमा रुचि नदेखाएपछि नेपालको कूटनीतिक प्रतिनिधित्वको जिम्मेवारी परराष्ट्रमन्त्री शिशिर खनालको काँधमा पुगेको छ । सरकार स्रोतका अनुसार प्रधानमन्त्रीले केही समय देशबाहिर नजाने स्पष्ट निर्देशन सचिवालयलाई दिइसकेका छन्, जसका कारण आगामी महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा उनी सहभागी नहुने लगभग निश्चित भएको छ।
यसैबीच, सेप्टेम्बरमा अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री खनालले गर्ने तयारी भइरहेको छ। विगतमा यस्ता महासभामा प्रायः प्रधानमन्त्री नै सहभागी हुने परम्परा रहे पनि यसपटक त्यो जिम्मेवारी परराष्ट्रमन्त्रीले सम्हाल्ने भएका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि परराष्ट्रमन्त्री खनाल असंलग्न आन्दोलन (NAM) स्थापना भएको ६५ वर्ष पूरा भएको अवसरमा सर्बियाको बेलग्रेडमा आयोजना हुने उच्चस्तरीय बैठकमा पनि सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल (NAM) को संस्थापक सदस्य भएकाले उक्त बैठकलाई पनि कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
प्रधानमन्त्री बालेनलाई भारतसहित विभिन्न देशबाट औपचारिक भ्रमणको निमन्त्रणा आइसकेको भए पनि उनले हाल विदेश भ्रमण नगर्ने नीति अपनाएको स्रोतहरूको दाबी छ। यसले अन्तर्राष्ट्रिय कूटनीतिक गतिविधिमा परराष्ट्र मन्त्रालयको भूमिका अझ सक्रिय बनेको देखिएको छ। अब विश्वका दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च-संयुक्त राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनको उच्चस्तरीय बैठक-मा नेपालको आधिकारिक आवाज परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गर्ने तयारी भइरहेको छ।






































