काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा विकसित तनावपूर्ण अवस्थाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो चिन्ता व्यक्त गर्दै देशभर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज र आम नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन्।
बिहीबार जारी अपिलमा राष्ट्रपतिले सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान र बल भएको उल्लेख गर्दै कुनै पनि घटनाले समाजमा विभाजन सिर्जना गर्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन सरकार सफल हुने विश्वास पनि व्यक्त गरे।
राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा यस्ता घटना भविष्यमा दोहोरिन नदिन सम्बन्धित निकायलाई सचेत रहन आग्रह गरेका छन्। साथै, घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।






































