काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने लगभग निश्चित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भएको भेटपछि वर्तमान नेतृत्वलाई नै कायम राख्ने सहमति बनेको मुख्यमन्त्री आचार्यले बताएका छन्।
मुख्यमन्त्रीको दौडमा लिला गिरी, भूमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठ पनि आकांक्षी रहे पनि अन्ततः नेतृत्व परिवर्तन नगर्ने निष्कर्षमा एमाले पुगेको देखिएको छ। बजेट पारित भइसकेको र प्रदेशसभाको कार्यकाल पनि छोटो बाँकी रहेकाले सरकार फेरबदल गर्दा नकारात्मक सन्देश जाने निष्कर्षमा पार्टी नेतृत्व पुगेको बताइएको छ।
यद्यपि मुख्यमन्त्रीको टुंगो लागे पनि मन्त्री चयन भने चुनौतीपूर्ण हुने देखिएको छ। मन्त्रालय संख्या १२ बाट ८ मा झरेपछि आकांक्षी धेरै हुँदा सन्तुलन मिलाउन एमालेलाई कठिन हुने अनुमान गरिएको छ।
यसैबीच, एमाले र नेकपाको मात्रै संख्या सरकार गठनका लागि पर्याप्त नभएकाले साना दल वा स्वतन्त्र सांसदको समर्थन जुटाउनुपर्ने अवस्था कायम छ। गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको औपचारिक छलफल भने एमालेले मुख्यमन्त्रीको निर्णय अन्तिम गरेपछि मात्रै सुरु हुने जनाइएको छ।






































