काठमाडौं । नेपाली सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि गिरावट कायम रहेको छ। बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२ बिन्दुमा झरेको छ भने यससँगै यो सातामात्रै बजार ६२ अंकले ओरालो लागेको छ।
बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिनको ४ अर्ब २ करोड रुपैयाँको कारोबार घटेर बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भयो। आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनी घटेका छन् भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।
बैंकिङदेखि जलविद्युत्, विकास बैंक, बीमा, होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र व्यापारसम्म सबै समूहगत सूचक राताम्मे बने। विकास बैंक र जलविद्युत् समूहमा सबैभन्दा धेरै गिरावट देखियो।
आज एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर शीर्ष लाभ कमाउने कम्पनी बन्यो भने कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् र सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहे।




































