काठमाडौं— नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ को तिखो अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा भएको छ। शर्माले नेतृत्वको भ्रष्टीकरणदेखि सम्पत्ति छानबिनसम्मको कुरा उठाएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित शीर्ष नेतामा असहजता देखिएको छ। प्रचण्डले आजै सार्वजनिक कार्यक्रममार्फत प्रतिवाद गर्ने तयारी गरेका छन्।

मंगलबार माक्र्सिज्म स्कुलद्वारा आयोजित कार्यक्रममा तीन कम्युनिष्ट पार्टीका युवा नेताबीच अन्तरक्रिया भएको थियो। कार्यक्रममा नेकपा माओवादीका उपमहासचिव शर्मा, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल सहभागी थिए। त्यही अवसरमा शर्माले माओवादी आन्दोलन र नेतृत्वमा देखिएको भ्रष्टीकरणबारे कठोर प्रश्न उठाएका थिए।

शर्माले सत्तामा पुगेका सबै कम्युनिष्ट नेताको सम्पत्ति छानबिन गरिनुपर्ने माग राख्दै भनेका थिए, “मनमोहन अधिकारी बाहेक कुनै पनि कम्युनिष्ट प्रधानमन्त्री चोखो छैन।” उनले नेतृत्व पुस्तान्तरणको अभाव र बिचौलिया प्रवृत्ति मौलाइरहेको आरोप पनि लगाएका थिए।

शर्माको अभिव्यक्तिले अध्यक्ष प्रचण्ड आक्रोशित भएको स्रोत बताउँछन्। प्रचण्डले मंगलबार साँझ आफ्ना निकट नेताहरूसँग आकस्मिक छलफलसमेत गरेका थिए। ती स्रोतका अनुसार प्रचण्डले आज राष्ट्रिय सभागृहमा हुने पुष्पलाल स्मृति दिवसको कार्यक्रममै प्रतिवाद गर्ने तयारी गरेका छन्।

कार्यक्रम दिउँसो १ः३० बजे सुरु हुनेछ, कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि हुनेछन्। कार्यक्रम समाजवादी मोर्चाद्वारा आयोजना गरिएको हो।

शर्माको अभिव्यक्तिको विरोधमा माओवादी नेताहरू सामाजिक सञ्जालमार्फत आक्रामक देखिएका छन्। अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष लेखनाथ न्यौपाने लगायत नेताहरुले शर्माविरुद्ध खुला आलोचना गरेका छन्।

यद्यपि, पार्टीका अर्का केन्द्रीय सदस्यले न्यौपानेको अडान स्पष्ट नभएको बताउँदै उनको लेखन व्यवहारसँग नमिल्ने टिप्पणी समेत गरेका छन्।