काठमाडौं— एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीले आफूलाई काम नदिए लामो समयसम्म पार्टीमा नबस्ने बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै गौतमले आफूलाई कुनै पद नचाहिएको, तर कामसहितको जिम्मेवारी दिनुपर्ने माग गरे ।

उनले पार्टीले कामसहितको पद सिर्जना गरेर जिम्मेवारी दिनुपर्ने बताउँदै कामविनाको पद आफूलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

गौतमले भने, “मलाई पद चाहिँदैन, काम चाहिन्छ । काम दिन कस्तो पद बनाउनुपर्छ, त्यो बनाएर जिम्मेवारी दिनुस् । यदि पद मात्र दिनुहुन्छ, तर काम दिनुहुन्न भने म लामो समय पार्टीमा बस्न सक्दिन । मलाई एउटा जिल्ला, दुई जिल्ला, आधा जिल्ला वा एउटा पालिकामा भए पनि जनवर्गीय र सामाजिक संगठनसँग जोडिएर काम गर्ने क्षेत्र चाहिन्छ ।”