काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले तय गरेको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन्।
कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित अन्तक्रियात्मक कार्यक्रम ‘देश विकास र देशवासीको उन्नतिको आधार बीपी’ मा बोल्दै देउवाले बीपीको मेलमिलाप नीति अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। कार्यक्रम बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेस खेलकुद विभागले संयुक्तरूपमा आयोजना गरेका थिए।
सभापति देउवाले बीपी कोइरालाले जीवनभर देश र जनताको हितका लागि काम गरेको, र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विचलित नभएको स्मरण गरे। “बलियो कांग्रेस र राष्ट्रिय शक्तिबीचको मेलमिलापले मात्र देश स्वतन्त्र र समृद्ध बन्छ भन्ने बीपीको सोच अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ,” देउवाले भने।
उनले कोइरालालाई राजनीति मात्र होइन, साहित्यका क्षेत्रका पनि चम्किला नक्षत्रका रूपमा स्मरण गरे। प्रजातान्त्रिक समाजवादका चिन्तक कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र मौलिक शैलीको माध्यमबाट नेपाली साहित्यमा गहिरो प्रभाव पारेको उनले बताए।
बीपीको राजनीतिक र साहित्यिक विचार कांग्रेसका लागि मात्र नभई आधुनिक नेपालको निर्माणका लागि मार्गदर्शक रहेको देउवाको भनाइ थियो। उनले आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था नै देशको दिगो भविष्य हो भन्ने कुरामा बीपी कोइराला सदैव दृढ रहेको उल्लेख गरे।
कार्यक्रममा देउवाले भारत निर्वासनमा रहँदा बीपीले पञ्चायती निरङ्कुश शासनविरुद्ध संघर्ष गरिरहेको अवस्थामा पनि राष्ट्रियता कमजोर भएको विश्लेषण गर्दै आठवटा ज्यान मुद्दा झेल्दै स्वदेश फर्किएको स्मरण गरे।
“बीपी कोइरालाको त्याग र योगदानले स्थापित गरेका मूल्य र मान्यताले नै नेपाली कांग्रेसलाई आजको हैसियतमा ल्याएको हो,” देउवाले भने।