काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै संस्थापन पक्षका शीर्ष नेताहरू सोमबार काठमाडौंको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा भेला भएका छन्।
उक्त छलफलमा उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका सिंहसँगै नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशशरण महत र विजयकुमार गच्छदार सहभागी भएका छन्।
नेताहरूबीच पार्टीको आन्तरिक संरचना, भावी नेतृत्व र महाधिवेशन रणनीतिसम्बन्धी विषयमा कुराकानी भएको बताइएको छ। स्रोतका अनुसार यो बैठक विगतदेखि चलिरहेको आन्तरिक छलफलको निरन्तरता हो।
यसअघि पनि संस्थापन पक्षका यिनै नेताहरूले सभापति शेरबहादुर देउवालाई पार्टीभित्रकै नेतामध्येबाट उत्तराधिकारी तोक्न दबाब दिँदै बुढानीलकण्ठ निवासमै पुगेर छलफल गरेका थिए। तर देउवाले अहिलेसम्म स्पष्ट धारणा नदिएको उनीहरूको भनाइ छ।
पार्टीको नेतृत्व हस्तान्तरण, संस्थागत सुधार र महाधिवेशनमा साझा रणनीतिमा एकमत हुन नेताहरूबीच बारम्बार छलफल चलिरहेको छ।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा संस्थापन पक्षभित्र नेतृत्वका लागि तयार भइरहेका आकांक्षी नेताहरूको सक्रियता पनि बढेको देखिन्छ।