काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएका समस्याका कारण गृह मन्त्रालयले सुधारका लागि हालै लोक सेवा आयोगबाट उत्तीर्ण भएका ४५ जना शाखा अधिकृत खटाएको छ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, यी अधिकृतहरूलाई अध्यागमन प्रणाली, चुनौती र सुधारसम्बन्धी तीनदिने तालिम दिइएपछि आजदेखि खटाइएको हो। अध्यागमन कार्यालयका प्रमुखमा सहसचिव नरहरि घिमिरे पनि नियुक्त भएका छन्।

यसअघि अध्यागमन कार्यालयमा कार्यरत ४५ जना अधिकृतलाई मन्त्रालयमा फिर्ता बोलाएर दरबन्दी मिलान प्रक्रिया अगाडि बढाइएको छ।

विमानस्थलको अध्यागमन कार्यालयमा बारम्बार देखिँदै आएको अव्यवस्थापछि सरकार गम्भीर भएको हो। गृह मन्त्रालयले नयाँ अधिकृतहरूलाई सुधारका लागि प्रतिबद्ध भएर काम गर्ने अपेक्षा राखेको छ।

यसै सन्दर्भमा सरकारले पूर्वमुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिसकेको छ। समितिलाई नीतिगत, कानुनी तथा संरचनागत सुधारका तत्काल र दीर्घकालीन कार्ययोजना प्रस्ताव गर्ने जिम्मेवारी दिइएको छ।