काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र वैचारिक तथा नीतिगत एकता कायम रहेको भन्दै केन्द्रीय सदस्यहरूलाई एकताबद्ध ढंगमा अघि बढ्न आह्वान गरेका छन्।

आजदेखि सुरु भएको एमालेको नवौं केन्द्रीय समिति बैठकको अध्यक्षता गर्दै ओलीले पार्टीमा कुनै मतभेद नरहेको बताउँदै बाह्य तत्वहरूद्वारा फैलाइएका झुट, अफवाह र षड्यन्त्रको सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

“हाम्रो पार्टी वैचारिक रूपमा एक ढिक्का छ,” ओलीले भने, “विरोधीहरूले विचार र काममा प्रतिस्पर्धा गर्न नसकेर झुटको सहारा लिन्छन्, गोयबल्स शैलीमा हमला गर्छन्, तर हामी पहिलेदेखि यस्ता चुनौतीको सामना गर्दै आएका छौं, फेरि पनि गरौं।”

ओलीका अनुसार हाल एमालेको सदस्य संख्या १ लाख ३९ हजारले (२८ प्रतिशत) वृद्धि भइसकेको छ, जसले पार्टी सङ्गठन बलियो बन्दै गएको देखाउँछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीले केन्द्रीय सदस्यहरूलाई बैठकमा निडर भएर आफ्ना विचार राख्न आग्रह गरेका छन्। साथै, पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा उभ्याउन सबै तहबाट योगदान दिनुपर्नेमा उनले जोड दिएका छन्।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्नेछन्। आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीसम्बन्धी छलफलसमेत बैठकको एजेन्डामा छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित सहभागिता सम्बन्धमा ओली र भण्डारीबीच भएको आइतबारको संवादबारे पनि बैठकमा प्रस्ताव आउने अपेक्षा गरिएको छ।