काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर सीमा हटाउने सन्दर्भमा आफूले जेलमा बिताएको १४ वर्षलाई उमेर सीमा गणनाबाट घटाउनुपर्ने तर्क राखेको विषयमा पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन्।

एमाले छाडेर हाल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका रावलले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै ओलीको तर्कप्रति व्यङ्ग्य गरेका हुन्।

उनले भनेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न अब बाल्यकाल, सुतेको समय, र बिरामी भई काम नगरेको अवधि पनि घटाएर उमेर कम गर्न कार्यदल बनाउने कि?”