काठमाडौं— नेपाली कांग्रेसभित्र बढ्दो गुटउपगुटले पार्टीलाई कमजोर बनाएको भन्दै नेताहरूले एकताको आवश्यकता औंल्याएका छन्। नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेताहरूले पार्टीलाई गुटगत राजनीति भन्दा माथि उठाएर एकजुट बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले लोकतान्त्रिक मूल्य र पार्टीको बलियो भविष्यका लागि सबै कार्यकर्तालाई एक ठाउँमा उभिन आग्रह गरे। “पार्टी कार्यकर्ता गुटमा विभाजित हुँदा पार्टी कमजोर भएको छ,” उनले भने, “पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ।”

भक्तपुर जिल्ला सचिव राजेश खड्काले गुटको प्रभाव केन्द्रदेखि वडा तहसम्म देखिएको भन्दै त्यसको अन्त्य नभएसम्म जनताको पक्षमा प्रभावकारी काम गर्न सकिने अवस्था नरहेको बताए।

त्यस्तै जिल्ला सहसचिव कृष्णमुरारी न्यौपाने, क्षेत्रीय सभापति भेषबहादुर कार्की र प्रदेश सभापति प्रदीप कार्कीले राजनीतिक व्यवस्थामा भएको परिवर्तनसँगै जनताको जीवनस्तर उकास्न कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी नेताहरूले कांग्रेसलाई गुटउपगुटको चक्रव्यूहबाट मुक्त गराई संगठनलाई मजबुत बनाउन सबै तहमा संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताए।