काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर फैलिएको भ्रष्टाचार विरुद्ध कडा कदम चाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा औपचारिक उजुरी दिने तयारी गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा पार्टीले भ्रष्टाचारका सबै तहको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सम्बन्धित निकायहरूमा उजुरी दर्ता गर्ने निर्णय गरेको हो। पार्टीले विशेषतः २०४६ सालपछि उच्च पदमा पुगेका नेताहरू, सरकारी कर्मचारीहरू र उनीहरूका नातेदारहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग अघि सारेको छ।
असार १९ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राप्रपाले ‘भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय लिएको थियो। सोही निर्णयअनुसार पार्टीले अहिले अख्तियारको केन्द्र र प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभागलगायत सम्बन्धित निकायहरूमा चरणबद्ध रूपमा दबाबमूलक अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।
राप्रपाले भ्रष्टाचारमाथि निरन्तर दबाब सिर्जना गर्दै नागरिक स्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रमहरू ल्याउने तयारी समेत गरेको छ।