काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणभारमा डुबिरहेको भन्दै वर्तमान परिस्थितिमा विजयको उद्घोष गर्न लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले सरकारका मन्त्रीहरू व्यापक भ्रष्टाचार र घुस प्रकरणमा मुछिएका कारण जनप्रतिनिधिहरू नै अनुहार लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए।

“अनुहार छोपेर हिँड्न बाध्य छौं,” उनले भने, “धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन छन्। मैले यसबारे पहिले नै चेतावनी दिएको थिएँ।”

उनले शान्ति प्रक्रिया सुरु भएको २०६२/६३ यता देशको सार्वजनिक ऋण २.६११ ट्रिलियन रुपैयाँ पुगेको उल्लेख गर्दै यो कुल गार्हस्थ उत्पादन (GDP) को ४७.७७ प्रतिशत भएको बताए। पछिल्लो वर्ष मात्र ९७ अर्ब रुपैयाँ नयाँ ऋण थपिएको उनको भनाइ थियो।

“प्रदेशहरू विकासको इन्जिन होइन, बोझ बन्न थालेका छन्,” बजगाईंले आलोचना गर्दै भने।

श्रम पलायन बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले देशको अस्थिर र भ्रष्ट संरचनाले युवाशक्तिलाई विदेशिन बाध्य बनाएको धारणा राखे।

“हामी केही गर्ने अठोट लिन्छौं, तर चारैतिर भ्रष्टाचार, घुस र ठगीको नाङ्गो नाच देखिन्छ। यस्ता अवस्थाले सच्चा आवाज दबाउने प्रयास भइरहेका छन्,” उनले भने।

राजनीतिक परिदृश्यमा राष्ट्रिय हितका साझा एजेन्डामा सरकारभित्र र बाहिर, नयाँ र पुराना दलहरूबीच स्पष्ट सहकार्यको अभाव रहेको टिप्पणी पनि उनले गरे।

नयाँ दलहरूप्रति कटाक्ष गर्दै उनले इजिप्टको एउटा उक्ति उद्धृत गरे, “जब कुनै नयाँ राजनीतिक दल उदाउँछ, त्यसमा सबैभन्दा नयाँ तत्व भनेको केवल त्यसको लोगो मात्रै हुन्छ।”