काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधनप्रति श्रद्धाञ्जली सभा गरिएको छ । 

मंगलबार चावहिल स्थिति राप्रपा पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी श्रद्धाञ्जली दिएको हो । 

श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले नेपाली राजनीतिलाई मगरको अभाव सँधै महशुस हुने बताए । नेता मगर आफ्नो निष्ठामा कहिल्यैपनि विचलित नभएको स्मरण गर्दै उनले उनीबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने धारणा राखे । 

उनले भने,‘नेपाली राजनीतिलाई उहाँको अभाव सँधै महशुस हुने नै छ । उहाँबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने कुरा हो । उहाँ आफ्नो निष्ठामा कहिल्यैपनि विचलीत हुनुभएन । ११ पटक मन्त्री भएपनि कहिल्यै उहाँ विवादित हुनुभएन् । यो उहाँबाट सिक्नुपर्छ ।’

मगरप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ ।

८७ वर्षीय मगरको गत शुक्रबार ललितपुरको ग्वार्खोमा रहेको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पशुपति आर्यघाटमा आजै उनको अन्त्यष्टि गरिनेछ ।