काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भिजिट भिसाको आडमा भइरहेका मानव तस्करीका घटनालाई लिएर गृहमन्त्री रमेश लेखकको नैतिकता र पदबाट राजीनामाको माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेपालीले सरकारलाई जनप्रतिनिधिको आवाजमाथि बेवास्ता गरेको आरोप लगाए। “हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर मुद्दा बारम्बार उठाइरहँदा सरकारले संरक्षण गरिरहेको देखिन्छ,” उनले भने।

भोटेकोशी नदीमा आएको बाढीले पीडामा थपिएको भन्दै उनले राष्ट्रिय संकटका बेला पनि सरकार गैरजिम्मेवार देखिएको आरोप लगाए। साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामालाई सकारात्मक भने पनि त्यो पर्याप्त नहुने टिप्पणी गरे।

“गुप्ताले राजीनामा दिए, तर यतिले मात्रै हुँदैन। अरू मन्त्रीहरू पनि संलग्न छन्। सत्य के हो? त्यो पत्ता लगाउन निष्पक्ष छानबिन आवश्यक छ, र दोषीमाथि कडा कारबाही हुनुपर्छ,” सांसद नेपालीले स्पष्ट पारे।

मानव तस्करी प्रकरणको मूल जरो अध्यागमन विभाग रहेको र त्यसमा गृहमन्त्रीको प्रत्यक्ष या अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै उनले प्रश्न गरे, “गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो? त्यो कुर्सीको यत्रो मोह किन?”

रास्वपाले मानव तस्करी र नागरिक शोषणविरुद्ध ४९ दिनदेखि आवाज उठाइरहेको स्मरण गराउँदै नेपालीले अघिल्लो सरकारले बनाएको समितिको प्रतिवेदनसमेत सार्वजनिक नगरी ढाकछोप गर्ने काम दोहोरिएको बताए।

“२०७८ मा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बनेको कार्यदलको प्रतिवेदन अहिले पनि लुकेको छ,” उनले भने, “कर्मचारी र राजनीतिक नेतृत्वको संलग्नता स्पष्ट भए पनि सबै मौन छन्।”

सांसद नेपालीले आफूहरू जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको भन्दै संवादको ढोका खुला रहेको बताए। “देश अहिले विपद् व्यवस्थापन, मानव तस्करी नियन्त्रण र भ्रष्टाचारविरुद्ध परिणाम खोजिरहेको छ। सरकार गम्भीर बनोस्, संवाद सुरु गरोस् र सदन उत्तरदायी बनोस्,” उनले भने, “त्यसअघि हाम्रो आन्दोलन जारी रहनेछ।”