काठमाडौं — नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लोकतान्त्रिक नेताहरूको ऐतिहासिक योगदानमाथि आँच पुर्‍याउने प्रयास नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले रास्वपालाई प्रचारमुखी पार्टीको संज्ञा दिँदै इतिहासप्रति सम्मान राख्न सुझाव दिए। “रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो। तिमीहरू लोकतान्त्रिक आन्दोलनको सानो फोका मात्रै हौ,” सांसद बजगाईंले भने, “इतिहासमाथि धब्बा लगाउनुअघि आफ्ना दागहरू सफा गर।”

उनले रास्वपाले कांग्रेसमाथि गरेको आरोप र आलोचना हदभन्दा बाहिर गएको बताउँदै चेतावनी पनि दिए। “तपाईंहरू मूलतः कांग्रेसमाथि हद पार गरेर आक्रमण गर्न खोज्दै हुनुहुन्छ,” उनले भने, “त्यसैले तपाईंहरू प्रतिगामी र गैरप्रजातान्त्रिक बन्न खोज्दै हुनुहुन्छ।”

रास्वपाले अदालतको आदेश अवज्ञा गर्दै सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर संकलन अभियान चलाएकोप्रति पनि सांसद बजगाईंले कडा आपत्ति जनाए।

“घरमै चालक शम्भु दिलबहादुर थापाको रहस्यमय मृत्यु भयो, शालिकराम पुडासैनीले आत्महत्या गर्नुपर्‍यो — यी घटनाहरू अझै निष्कर्षमा पुगिसकेका छैनन्,” उनले भने, “तर विपत्तिका बेला राष्ट्र एकजुट हुनुपर्नेमा उल्टै अदालतको आदेशलाई अवज्ञा गर्दै हस्ताक्षर संकलन गरिँदैछ।”

सांसद बजगाईंले रास्वपालाई आफ्नो पार्टीभित्र भ्रष्टाचारविरुद्ध लड्ने हिम्मत देखाउन चुनौतीसमेत दिए। “हामी पहाडमा उद्धार गर्दैछौँ, रोजगारी सिर्जना गर्दैछौँ, भ्रष्टाचारविरुद्ध आफ्नै पार्टीभित्र आवाज उठाउँछौँ,” उनले भने, “तपाईंले पनि आफ्ना घोटालेबाजहरूलाई प्रश्न गर्न सक्नुभयो?”

अन्त्यमा बजगाईंले चेतावनी दिँदै भने, “जो बोल्छ, उसको अवस्था ढकाराम र मुकुलजस्तो बनाइन्छ। अनि तपाईं हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउनुहुन्छ?”