काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको सुशासन आयोगको अवस्थाबारे प्रश्न उठाएका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेनले सुशासनको नाममा सरकारकाे ढोल पिटिए पनि जनताले खोजिरहेको आयोग नै हराएको टिप्पणी गरे। अडियो सार्वजनिक भइसकेको अवस्थामा पनि सम्बन्धित मन्त्रीले राजीनामा नदिएकोप्रति उनले आपत्ति जनाए।
“राजावादीलाई तह लगायौं भनेर उत्सव मनाउने तर जनतालाई लुट्न मिलेर ठूला दलहरू सरकार चलाउने? यस्तो व्यवहार स्वीकार्य हुँदैन,” लिङदेनले भने।
भिजिट भिसा प्रकरणमा आफूहरूले संसदमार्फत निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै उनले यसलाई गलत अर्थ नलगाउन आग्रह गरे। साथै, डेढ महिनादेखिको विरोधपछि पनि संसद चलाउन प्रयास गरिएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए।
लिङदेनले हालको अवस्था संसदीय इतिहासकै कालो अध्यायको रूपमा उल्लेख गर्दै सत्ता पक्षको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्।