काठमाण्डौ । सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ ।
सुनसरी प्रहरीका अनुसार हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको छ । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।
किशोरीको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको प्रहरीले जनाएको छ। गोली प्रहारको कारण खुलिनसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।