काठमाण्डौ  ।  महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा थोरै उत्तरतिर सरेकाले मनसुनी गतिविधि बढेको हो । बिहानैदेखि देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि पूर्वानुमान गरिएको छ ।

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।