काठमाडौँ / बुधबार साँझ राजश्व अनुसन्धान विभागले पक्राउ गरेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा लगिएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको जानकारी दिए ।

उनले भने, ‘८ प्याकेट सुन आइसकेको छ । प्याकेट सहित जोख्दा कूल १५४ किलोग्राम भएको छ ।’  तर, यी प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने आचार्यले बताए ।

OM Sai Pathibhara Hospital

‘अहिले ‘ब्रेक प्याड’ सहित १५४ किलोग्राम भएको छ । यसलाई गालेर (पगालेर) जोख्नुपर्छ,’ आचार्यले भने, ‘सम्बन्धित निकायबाट सुन जोख्न ग्रीन सिग्नल आइसकेको छैन ।’ सुन जोख्न अनुमति आएपछि ब्रेक प्याडबाट सुन छुट्टयाएर गालिने र त्यसपछि जोख्दा मात्रै यकिन परिणाम आउँछ ।

यो प्रक्रिया एक हप्तासम्म चल्न सक्ने आचार्यको भनाई छ । र, आजै सुनमाथि थप अनुसन्धान गर्न अनुमति आएर प्रक्रिया थालेमा एकहप्ता लाग्न सक्ने उनको भनाई छ । यद्यपि, यो अनुमानित मिति भएकाले योभन्दा छिटो वा ढिलो समेत हुनसक्ने उनले बताएका छन् ।