सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिका–९ मा प्रहरीले ४४ दशमलव ३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शंकाका आधारमा रोकी जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको खैरो हेरोइन बरामद गरेको हो।

पक्राउ पर्नेमा आफूलाई ‘जनजागरण खबर’ का समाचारदाता बताउने सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर पतारी गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।

प्रहरीले घटनास्थलबाट ४४ दशमलव ३४० ग्राम खैरो हेरोइन, चार थान मोबाइल फोन र प्रयोग गरिएको कारसमेत नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त कार उमेश कुमार यादवले काठमाडौंस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा पठाइएको प्रहरीले जानकारी दिएको छ।