काठमाडौं / गृहमन्त्री सुधन गुरुङले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेर तीनै तहका सरकारको सहकार्यमा योजना अघि बढाइरहेको जानकारी दिए। उनले नेपालले विभिन्न समयमा राजनीतिक तथा सामाजिक उतारचढाव बेहोरेको उल्लेख गर्दै त्यसको असर नागरिकको मानसिक स्वास्थ्यमा पनि परेको बताए। यस्ता चुनौतीलाई सम्बोधन गर्न सरकार योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले आत्महत्या रोकथामका लागि सञ्चालनमा रहेको ११६६ हेल्पलाइन प्रभावकारी बनाउन प्रयास भइरहेको जानकारी दिँदै यस क्षेत्रमा सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। फरक प्रसंगमा उनले मुलुकमा शान्ति सुरक्षा कायम राख्न गृहमन्त्रालय निरन्तर सक्रिय रहेको उल्लेख गर्दै संवेदनशील घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले त्यस्ता विषयमा सार्वजनिक टिप्पणी गर्नु उपयुक्त नहुने धारणा राखे।
साथै, संसद्मा संवेदनशील विषय उठाउँदा पीडित परिवारको अवस्थालाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।






































