काठमाडौं / प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालमध्ये कति अस्पताल सरकारले तोकेको मापदण्डअनुसार पूर्ण रूपमा सञ्चालनमा छन् भन्ने विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विद्यमान अवस्था, चुनौती र भावी कार्ययोजनाबारे छलफलका क्रममा उनले निर्माण सम्पन्न भएको तथ्यांक मात्र पर्याप्त नहुने बताइन्। उनले सरकारले देशभर ५ र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिए पनि हालसम्म करिब १७ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको जानकारी दिँदै निर्माण सकिएका अस्पतालहरू वास्तवमै सेवा सञ्चालनमा छन् कि छैनन् भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।

ूनिर्माण सम्पन्न भएको भनिएका अस्पतालमध्ये सरकारले तोकेको मापदण्ड पूरा गरेर नियमित रूपमा सेवा सञ्चालन गरिरहेका अस्पताल कति छन् भन्ने विवरण छैन उनले भनिन। त्यस्ता अस्पतालहरूको सञ्चालन अवस्था र सेवा प्रवाहको प्रभावकारिताबारे पनि अनुगमन आवश्यक छ। कार्कीले स्वास्थ्य क्षेत्रमा लगानीलाई खर्च नभई भविष्यको लगानीका रूपमा लिनुपर्ने धारणा राखिन्।

स्वस्थ नागरिक नै विकासको आधार भएको उल्लेख गर्दै उनले भौतिक तथा मानसिक रूपमा स्वस्थ जनशक्तिले मात्रै देशको समग्र विकासमा प्रभावकारी योगदान दिन सक्ने बताइन्।