काठमाडौं / विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

नेपाली सेनाका सात तथा गैरसैनिक छ वटा हवाई साधनमार्फत शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरिएको छ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको छ । उनीहरूको उपचार भइरहेको छ ।

खोज तथा उद्धारका क्रममा सोही स्थानबाट एक शवसमेत निकालिएको छ भने थप खोज तथा उद्धार कार्य जारी छ । त्यस्तै, त्रिशूली–३बी आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरेको छ । उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरमार्फत बाटो निर्माणका लागि बबक्याट प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको छ । टोली अडिट–१ बाट ४२६ मिटरभित्र प्रवेश गरेको छ । साथै, अडिट–१ बाट एक्स्काभेटर भित्र्याई त्रिशूली–३ए सँग लिङ्कअप गराउने कार्यसमेत भइरहेको छ ।

लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ तथा गैरसैनिक दुई जनासहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुई वटा शव फेला पारेको छ । सो क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी छ । चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर तथा मड पम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाउने कार्य गरिरहेको छ । यसैगरी, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ¥याफ्ट र बोटसमेत प्रयोग गरी खोजी कार्य गरिरहेको छ ।

सुरुङभित्र जम्मा भएको पानी बाहिर निकाल्ने कार्यसमेत भइरहेको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली परिचालन भई बेस निर्माण गरिरहेको छ । सो स्थानमा जडान गर्न गजुरीमा रहेको एक्रो ब्रिजका केही भाग त्रिशूली पु¥याइएको छ भने थप सामग्री ढुवानी भइरहेको छ ।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउन चिकित्सक अधिकृतसहितको टोलीले पैदल गस्ती गरिरहेको छ । गस्तीका क्रममा स्थानीयवासीलाई स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।